झापा : झापाको बिर्तामोडस्थित एक होटेलमा व्यक्तिगत गोपनीयता भङ्ग हुने गरी र चरित्र हत्या गर्ने गरी आतङ्क सिर्जना गर्ने युटुबरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी र युटुबर बोलाएर आतङ्क सृजना गर्ने होटेल जङ्गल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पुल सञ्चालक सुवास कार्की, अनलाइन टेलिभिजन सङ्घ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् ।

उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् । प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार क्यामेरा मेन भास्कर श्रेष्ठ, सामाजिक सञ्जाल टीकटकमा भिडियो पोष्ट गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईँ पोखरेलका नाममा पनि उजुरी परेको छ ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ दुई महिला र एक पुरुषले होटेलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतङ्क गरेका थिए। अभद्र व्यवहार सम्बन्धी उजुरी परेको र उजुरी परेकालाई पक्राउ गर्न प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।

पीडितहरूले निवेदनमा आफूहरूको इज्जत प्रतिष्ठा हनन हुने गरी आफूहरूलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जवर्जस्ती भिडियो खिची आफूहरूको इच्छाविपरित गलत मनसायले उक्त भिडियो सामाजिक सञ्जालमार्फत युट्युबमा अपलोड गरी टीकटक प्रयोगकर्ता कल्पना थापा बस्नेत र चन्दा प्रसाईँ पोखरेल समेतले सामाजिक सञ्जालमा राखेर व्यक्तिगत जीवनमा आँच आउने गरी चरित्र हत्या गरेकाले २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कारबाहीको माग गरेका छन् ।