झापा : झापामा कोभिड–१९ विरुद्धको भारतीय खोप कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका एक लाख १७ हजार ५९० जना दोस्रो मात्राको पर्खाइमा छन् ।

सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार झापा जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उनले ७७ हजार ४३७ जनाले भेरोसेल खोप लगाएको जानकारी दिए । त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् ।

झापा जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएका छन् । जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनै पर्ने हुन्छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार ३७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन् ।

जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ । कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पर्खाइमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि झापा जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताए ।