धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले नेपाली नक्कली नोट सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाकारी दिएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाही पेट्रोल पम्प नजिक नेपाली नक्कली नोट सहित २ जना भारतीय पक्राउ परेका हुन्।

देवानगंजबाट खटिएको टोलीले BR50-S-8406 नम्बरको मोटरसाइकलमा सवार जिल्ला अररिया रामनगर बस्ने ४० वर्षीय भारतीय नागरिक नबल किशोर पाल र ३२ वर्षीय सुमन पालका साथबाट १ सय रुपैयाँका १६ थान नक्कली नोट फेला परेको हो।

नक्कली नोट सहित पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्दा सम्बन्धी कसुर अन्तरगत सुनसरी जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।