धरान : मोरङको विराटनगरमा बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमर टोलका १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्द कुमार साह रहेका छन् ।

उनीहरूले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन“ भन्ने जस्ता अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याई आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटी समूहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।