धरान : धरान उपमहानगरपालिकामा कोरोना संक्रमणदर बढेकोले कोरोना नियन्त्रण र न्यूनीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले १५ दिने कोरोना परीक्षण अभियान सुरु गर्ने भएको छ ।

सोमबार देखि सुरु हुने सो अभियानमा धरान उपमहानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूका स्वास्थ्यकर्मीहरूलाई परिचालित गरी अव देखि वडा वडामै एन्टिजेन परीक्षण गरिने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । त्यसका लागि आइतबार धरान उपमहानगरपालिकामा स्वास्थ्य संस्था मार्फत समुदायमा एन्टिजेन परीक्षणका लागि एक दिने स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको छ ।

धरानका १३ स्थानमा रहेका स्वास्थ्य संस्थाबाट अव देखि हरेक दिन कोरोना सङ्क्रमण आशङ्का गरिएका नगरवासीलाई एन्टिजेन परीक्षण गरिनेछ । विगतमा हरेक आइतबार, मंगलबार र बिहीबार धरान-८ को सभागृहमा एन्टिजेन र पिसिआर परीक्षण हुँदै आएकोमा अव देखि सभागृहबाट पिसिआर मात्रै परीक्षण गरिनेछ ।

आइतबार, मंगलबार र बिहीबार बाहेक अरू दिन कोरोना सङ्क्रमण बढेको क्षेत्र रेड जोन एरियाहरूमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली स्थलगतरुपमा खटेर पिसिआर परीक्षण गर्ने महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।

स्वास्थ्य महाशाखाले यो १५ दिने अभियानमा कोरोना सङ्क्रमितको पहिचान सँगै उनीहरूलाई सङ्क्रमितहरूलाई स्वास्थ्य परामर्श दिने र उपमहानगरको स्वास्थ्य महाशाखामा उपलब्ध स्वास्थ्य सामाग्रीहरू समेत वितरण गर्ने तयारी भइरहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Antizen-test-talim-1