इटहरी : भदौ ५ गते इटहरी उपमहानगरपालिकाले ई-सेवाबाट कर तिर्ने व्यवस्था सुरु गर्‍यो। सोही दिन सुन्दरहरैचा नगरपालिकाले पनि मोबाइल एप्स ई सेवा मार्फत कर तिर्न मिल्ने गरी सम्झौता गर्‍यो । एकै दिन दुई पालिकाले मोबाइल एप्स मार्फत नै कर तिर्ने व्यवस्था लागु गरेका हुन् ।

यससँगै मोबाइलको ई सेवा एपबाटै सम्पत्ति कर, व्यवसाय कर,बहाल कर तिर्न सकिने भएको हो। इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पेपरलेस कार्यालय बनाउने अवधारणा अन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको बताए।

महामारी लगायत विभिन्न समस्याको कारण जनताले कार्यालयमा पुगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न उपमहानगरपालिका लागी परेको उनको भनाई छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजकला दवाडीले घर बाटै कर तिर्न पाउनु पनि विकासको एउटा महत्त्वपूर्ण खुट्किलो र पारदर्शिताको अङ्ग रहेको बताइन् ।

सुन्दरहरैचा नगरपालिकामा सेवा सुरु भए सँगै मेयर शिव प्रसाद ढकालले नगद रहित आर्थिक प्रशासन बनाउने प्रयासमा लागी परेको सुनाए । प्रविधिको उच्चतम उपयोग गर्दै जनताले घरबाटै सम्पूर्ण सेवा लिन सक्ने उनको भनाई छ । जनतालाई प्रविधिमा अभ्यस्त बनाउने र कार्यालयलाई पनि सोहीअनुसार अगाडी बढाउने योजना रहेको ढकाले प्रस्ट पारे ।

प्रविधिमैत्री कर प्रणालीको लागी ई सेवाका प्रदेश प्रमुख झलक सुब्बा र सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर कृष्ण प्रसाद घिमिरेबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मोबाइलबाटै कति कर तिर्नुपर्ने हो भनेर हेर्न, लेखाजोखा गर्न र तिरिसकेपछि विल प्रिन्ट गर्न सकिने व्यवस्था मिलाइएको झलक सुब्बाले बताए। कर भुक्तानी गरे पछि सम्बन्धित व्यक्तिको इमेलमा विल आउने र मोबाइलमा तत्काल जानकारी आउने उनको भनाई छ ।

यस अघि नै विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, छथर गाउँपालिकाले सेवा सुरु गरिसकेका छन् । केही दिनमै कटहरी र केराबारी गाउँपालिकामा सेवा सुरु हुँदैछ।