धरान : सशस्त्र प्रहरीद्वारा एक वर्षको अवधिमा प्रदेश १ को सीमा क्षेत्रबाट १५५ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७७/०७८ को अवधिमा भारतबाट लागुऔषध लिएर आउँदै गरेका १५५ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी वंशीराज दाहालले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ जनाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ मा सशस्त्र प्रहरीले लागुऔषधसहित ७१ जनालाई पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध कारोबारीबाट लागुऔषध गाँजा चार सय ११ किलोग्राम र ब्राउन सुगर (खैरो हेरोइन) चार सय २४ ग्राम ६७ मिलिग्राम बरामद भएको दाहालले जानकारी दिए।

लागुऔषध नाइट्रोसन, हाइड्रोक्लोराइड, लुपिजेसिक, डाइलेक्स डिसी, कोरेक्स, स्पास्मोप्रोक्सिभन, डाइजापाम, एभिल, क्यापिजेसिक, फेनारगन लगायतका लागुऔषध ठुलो परिणाममा बरामद भएको डिआइजी दाहालले बताए ।

लागुऔषधको कारोबारी, व्यापारी र प्रयोगकर्ता सबैभन्दा धेरै युवापुस्ता देखिएको बताउँदै दाहालले भने- 'राष्ट्र निर्माणमा सहयोगको भूमिका खेल्ने युवा लागुऔषधको लतमा फस्नु दु:खद हो ।'

‘लागुऔषधको लतले समाजमा अपराध पनि बढाएको छ,’ डिआइजी दाहाल भन्छन्, ‘नियन्त्रणमा सबै पक्ष नजुटे समाजको भविष्य अन्धाकारतिर धकेलिँदै छ । न्यूनीकरण गर्नका लागि प्रहरी मात्र हैन परिवार पनि लाग्नु पर्छ।'

Pappu