धरान : गत जेठ ५ गते धरान-४ को बैदाङ खोपमा सडेको अवस्थामा भेटिएका धरान-५ का २५ वर्षीय प्रदीप सुब्बाको मृत्यु प्रकरणमा पक्राउ परेका तिन जना मध्ये एक जना जेल चलान भएका छन् ।

मृतक प्रदीपको परिवारले दिएको उजुरीको आधारमा पक्राउ परेका ५४ वर्षीय जन्तरे भनिने राम बहादुर राईलाई सुनसरी जिल्ला अदालतमा सोमबार भएको फैसलाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका स्रेस्तेदार मोहन बहादुर अधिकारीले जानकारी दिए।

यसै गरी ४४ वर्षीय मङ्गल सिंह लिम्बू, २० वर्षीय भरत भुजेल सादा तारिखमा छाडिएको अधिकारीले बताए ।
अदालतकी ८ नं न्यायधिस निर्मला योङयाको इजलासमा थुनछेक बहस भएको थियो भने अर्को फैसला नहुँनजेल सम्मका लागि सो निर्णय सहितको आदेश लागु हुनेछ ।

मृतकका बुबा सूर्य बहादुर सुब्बा र बहिनी कृतिमा सुब्बाले गत जेठ ७ गते दिएको उजुरी प्रहरीले दुई महिना पछि साउन ७ गते मात्र दर्ता गरेको हो । उजुरी दर्ता भएपछि साउन ८ गते सुनसरी जिल्ला अदालतले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले साउन ९ गते ३ जनालाई पक्राउ गरी अदालतबाट कर्तव्य ज्यान मुद्दामा तिन चरणको म्याद थप गरी अनुसन्धान गरेको धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।

यस घटनाको अनुसन्धानमा प्रदेश १ को प्रहरीको टोली, सुनसरीको प्रहरी टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र धरान प्रहरीको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।

घटनाको अनुसन्धान फितलो भएको भन्दै पीडित पक्षहरूले विगत दुई महिना देखी गुनासो समेत गर्दै आएका थिए । घटनाको प्रभावकारी र परिमाणमुखी अनुसन्धान नभएको आरोप लगाउँदै मृतकका आफन्तहरूले गएको असार १३ गते पत्रकार सम्मेलन गरेका थिए ।

इलाकाको अनुसन्धान चित्त नबुझे पछि मृतक प्रदीपको परिवार सङ्घीय इकाई प्रहरी कार्यालय धरानको अपराध शाखामा पनि गएको थियो । शाखाका एसपी भीम दाहालले इलाकामा भइरहेको अनुसन्धानको मिसिल हेरेर धरान प्रहरीलाई आवश्यक निर्देशन दिए पछि अनुसन्धानले तीव्र गति लिएको हो ।

मृतक प्रदीप आमासँग बस्दै गरेको भए पनि उनी पछिल्लो समय धरान-८ मा बहिनीकोमा बस्दा बेपत्ता भएका थिए ।