इटहरी  : कोरोना महामारीको सङ्क्रमण नियन्त्रण हुन नपाउँदै सुनसरीको जनजीवन सामान्य जस्तै अगाडी बढ्न थालेको छ। महामारी नभए जसरी नै सर्वसाधारणको भिडभाड हुँदा संक्रमणदर उच्च बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बारम्बार निषेधाज्ञाको घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

पछिल्लो समय कोरोना सँग मिल्दोजुल्दो लक्षण देखापरेपनि परीक्षण नगराउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमण बढ्न थालेको हो। जिल्ला प्रशासन कार्यालयले मास्क, सेनिटाइजर र भौतिक दुरी कायम गर्न भने पनि त्यतातर्फ सर्वसाधारणले ध्यान दिएका छैनन्।

धेरै भिडभाड हुने हाट, बजार, मेला र उत्सवलाई मध्यनजर गर्दै भिडभाड नगर्न आदेश गरिएको छ। स्थानीय तहले मास्कको प्रयोग तथा स्वास्थ्य मापदण्डबारेमा सचेतना अपनाउन प्रचार गर्नुपर्ने भनिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यसतर्फ ध्यान दिएका छैनन्। साउन २० गते बुधवार देखी २९ गते सम्मको लागी जारी आदेशलाई सदर गर्दै भदौ ७ गते पुन नयाँ आदेश जारी गरिएको छ।

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणदर बढ्दै गएको भन्दै जिप्रका सुनसरीले स्वास्थ्य मापदण्ड अपनाएर मात्र बाहिर निस्किन आग्रह गरेको छ । मास्क नलगाउनेलाई कारबाही गर्ने बताएको प्रशासनले अहिले सम्म सम्म कसैलाई पनि कारबाही गर्न सकेको छैन।

सरकारी कार्यालयहरू आलोपालो प्रणालीमा भिडभाड नहुनेगरि सञ्चालन गर्न निर्देशन दिइएको आदेश कार्यान्वयन हुन सकेन। कृषि थोक बजारको हकमा भने बिहान ४ बजे देखी दिउसो १२ बजेसम्म मात्र खुल्ला गर्न पाइने भने पनि दिनैभर बजार पसल सञ्चालनमा आइरहेका छन्।

सार्वजनिक यातायातको हकमा सिट सङ्ख्या भन्दा बढी यात्रु राख्न नपाइने प्रजिअ द्वारा जारी आदेशमा उल्लेख गरिएको छ। सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर मात्र सवारी साधन चलाउन निर्देशन दिइएको छ । तर त्यसतर्फ नियामक निकाय मौन देखिएको छ।

उता प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सर्वसाधारण आफै चनाखो हुनुपर्ने बताउँछन्। आदेश भन्ने बित्तिकै पक्राउ गर्ने र थुन्ने मात्र हैन सर्वसाधारणलाई सचेतनाको लागी जानकारी पनि भएको उनको भनाई छ। महामारी अझै उच्चस्तरमा बढ्दै गए थप सचेतनाको उपाय अपनाइने उनले बताए।