झापा : कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा शुल्क वृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कको ५० प्रतिशत भन्दा बढी अनलाइन कक्षाको शुल्क नलिन झापाका विद्यालयहरूलाई विद्यार्थी सङ्गठनहरूले ध्यानाकर्षण गराएका छन्।

विद्यार्थी सङ्गठनले एक प्रेस विज्ञप्ति निकाल्दै यस विषम परिस्थितिमा विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरूले अभिभावकहरूबाट चर्को शुल्क असुलिरहेका पाईएको जानकारीमा आएको दाबी गरेका छन् ।

आम विद्यार्थी र अभिभावकबाट आएको त्यस गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियू क्रान्तिकारीले त्यस्तो आफूहरूको आग्रहलाई बेवास्ता गर्ने प्रयत्न भएमा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

नेपाल विद्यार्थी सङ्घ झापाका सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले विज्ञप्ति जारी गरी उक्त चेतावनी दिएका हुन्।

jhapa-school-fee-press-rele