धरान : वराहक्षेत्र नगरपालिकाको वाडनं-२ बयरबन स्थित सप्तकोसी सुनचाँदी पसलमा करिब ४ लाख रुपैंया बराबरको गरगहना चोरी भएको छ ।

गए राती पसलबाट ३ तोला २ आना सुन र १ किलो चाँदी चोरी भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् ।

काठको ढोका भएको सुन पसलमा ढोका फुटाएर चोरी भएको प्रहरीले जनाएको छ । पसलमा राखिएको सिसिटिभी क्यामेराको रेकर्ड पनि चोरी भएको राजवंशीले जानकारी दिए ।

पसलमा बेच्न राखिएको, ग्राहकले सफा गर्न दिएको २ थान र बनाउँदै गरिएको सुनको गहना, यसै गरी चाँदीको सिक्री, सिक्का, औँठी र बालाहरू चोरी भएको पसल सञ्चालक महेश विकले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।