विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्ने तयारी गरिएको एक सांसदले बताएका छन्।

मुख्यमन्त्री राईले दलको नेताबाट राजीनामा दिए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा दिने श्रोतको दाबी छ। आज साँझ सम्म नेता आचार्य मुख्यमन्त्री बन्ने बताइएको छ।

माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ मत अन्तरले पराजित भएका थिए। नेपाल समूहबाट गुट परिवर्तन गर्दै उनी ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए।

नेता आचार्य एक महिने मुख्यमन्त्री बन्न लागेको नेकपा एकीकृत समाजवादीका एक सांसदले बताए। उनले कुनै हालतमा विश्वासको मत नपाउने उनको दाबी छ।

प्रदेश १ मा एमालेका ५१ जना सांसद छन्। समाजवादीले आफ्नो पक्षमा १२ जना रहेको बताएको छ। प्रदेश सभामा काँग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १-१ जना सांसद छन्। समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ।