काठमाडौँ : सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ आरसी कोलाको ५० करोड लागतमा नेपालमै उत्पादन सुरु गरिएको छ। नेपालमा भेन्चुरा बोटलर्स प्रालिले उत्पादन सुरु गरेको आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध छन्।

प्रोडक्ट लन्च कार्यक्रम गरी घोषणा गरिएका उत्पादनमा आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर रहेको भेन्चुरा बोटलर्स प्रालिका निर्देशक सुवास आचार्यले जानकारी दिए ।

आरसी, अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त उत्कृष्ट कार्बोनेटेड सफ्ट पेय पदार्थ भएको आचार्य बताउँछन् । अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली पानीसँग मिसिएर बोतल भरिन्छ ।

यसको आवश्यक कच्चा पदार्थ अमेरिकाको जर्जिया प्रान्तको कोलम्बसबाट आयात गरी मकवानपुरमा उत्पादन गरिएको आचार्य बताउँछन् ।

आर सीका उत्पादनहरू अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए)का साथै एसिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरूबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको भेन्चुरा बोटलर्स प्रालिका सिइओ कबिन अर्यालले बताए ।

उपभोक्ता सन्तुष्टि र उत्पादनको गुणस्तरमा सम्झौता नहुने अर्याल बताउँछन् । ‘यस पेय पदार्थको नेपालका लागि उत्पादन तथा वितरण गर्ने घोषणा गर्न पाउँदा हामी हर्षित छौँ’ अर्याल थप्छन् ‘आर सी कोलालाई विश्वव्यापी उपभोक्ताको ११६ वर्ष सम्म स्नेह रहेको छ र यो अझै पनि अटुट छ।‘

६७ राष्ट्रले स्वीकार गरेको संसारको एक पुरानो, मौलिक र सृजनशीलताको परिचायक कोलालाई नेपालमा भित्र्याउन पाउनु गौरवको कुरा रहेको अर्यालको भनाइ छ।