धरान : प्रदेश १ को मुख्यमन्त्रीको रूपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् ।

विराटनगरको होटल एसियाटिकमा आज बिहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यले आजै मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आज प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारी समक्ष राजीनामा दिए लगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिवर्तन गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात् प्रस्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।