झापा : कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । तर, यस क्षेत्रको अवस्था दयनीय छ । जग्गाको ठुलो हिस्सा कृषि भूमिका रूपमा प्रयोग हुन सकेको छैन ।

कतै सिँचाइको अभाव समस्याकारुपमा देखापरिरहेको छ भने कतै आधुनिक प्रविधिलाई आत्मसाथ गर्न नसक्दा समस्या देखिन्छ । अर्कोतिर कृषि भूमिको परिमाण घट्दै गइरहेको छ भने यसमा निर्भर जनसङ्ख्या सङ्कटमा देखिन्छन् ।

सरकारी तथ्याङ्क अनुसार करिब ३१ लाख हेक्टर जमिन खेती गर्नका लागि लायक छ । झन्डै ६० लाख हेक्टर भूमि वन क्षेत्र भित्रै पर्दछ । नेपालमा साढे ५ हजार भन्दा बढी नदी नाला र करिब सय वटा ठुला नदी छन् । तर, कुल जनसङ्ख्याको ६६ प्रतिशत कृषिमा निर्भर मुलुक नेपालमा सिँचाइ ठुलो समस्याको रूपमा रही आएको छ ।

सिँचाइ विभागसँग मुलुकको कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टरमध्ये १३ लाख ९९ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क छ । तर, कृषि विज्ञहरू कुल खेतीयोग्य जमिनको २० प्रतिशत अर्थात् ६ लाख हेक्टर जतिमा मात्र सिँचाइ पुगेको बताउँछन् ।

सिँचाईकै समस्याका कारण किसानहरूले भनेजस्तो उत्पादन लिन नसकिरहेका गुनासो गर्छन् झापा कमल गाउँपालिकाका किसान लोकनाथ भण्डारी । उनी भन्छन्, “खेती गर्ने बेला भयो भने आकाशे पानीकै भर नपरी सुखै छैन । ”

कृषिभित्र वनस्पतिलाई जोडेर, यसलाई व्यवस्थित गर्न सक्ने हो भने धेरै अगाडी बढ्न सकिने तर्क छ अर्का किसान सन्तनाथ बानियाको । “हामीसँग भएका श्रोत साधनकै पनि हामीले अझै पनि उपयोग गर्न नसकिरहेको अवस्था छ । यसलाई व्यवस्थित ढङ्गले उपयोग गर्न जान्ने हो भने हामी कहाँ सब थोक छ ।” उनले भने ।

सरकारी तथ्याङ्कले नेपालको ६६ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको देखाउँछ । तर तिनै कृषिमा निर्भर किसानहरू कृषिबाट सन्तुष्ट बन्न सकिरहेको अवस्था छैन ।

“मरिमरी खेती गर्‍यो, बर्षदिन खाने अन्न पनि उत्पादन गर्न धौ धौ हुन्छ । घर खर्च कहाँबाट चलाउने, छोराछोरीलाई कसरी पढाउने ?” झापा कमल गाउँपालिकाकी किसान लक्ष्मी श्रेष्ठ गुनासो पोख्छिन् ।

अझ, जग्गाको चक्लाबन्दीका कारण संयौं हेक्टर जमिन बाझै राख्नुपर्ने बाध्यता प्रति कृषकहरूको चिन्ता उस्तै छ । “भएका खेती योग्य जमिन पनि प्लटिङ गरेर सिध्याउदैछन् । यस्तै हो भने कुनै दिन नेपालमा भोकमरी नलाग्ला भन्न सकिन्न ।” धान गोड्दै गरेका किसान डिल्लीराम घिमिरेले भने ।

खेतीको समयमा मल र बिउको अभाव झेल्नुपर्ने, सिँचाइको अभाव र परम्परागत उपकरणहरुनै अहिलेका कृषकका सारथि बनिरहेको सन्दर्भमा कृषिमा कसरी आमूल परिवर्तन हुन्छ र ? झापा दमकमा कृषि क्षेत्रमा काम गरिरहेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दीपक खनालको प्रश्न छ ।

उनी भन्छन्, आधुनिक तवरले खेती गर्ने हो भने हामी पक्कै सफल हुन्छौँ, तर हामी कहाँ ज्ञान र सिपको पनि अभाव छ । यसलाई हरेक स्थानीय तहमा रहेका कृषि शाखाले पनि खासै महत्त्व नदिएको उनको गुनासो छ ।