धरान : झापामा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ ।

अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने छ । त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ ।

कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।

भोलि देखी झापाका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाइने
झापाका विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ ११ गतेदेखि जिल्लाका कक्षा १२ र सो भन्दा माथि अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरूको लागि कलेजको परिचयपत्र र प्रवेश पत्रको आधारमा एक्ट्राजेनिका खोपको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय झापाले मिलाउने निर्णय गरिएको जनाइएको छ ।