धरान : धरानमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाइने भएको छ ।

आज मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धरानका केही स्थान तथा तरकारी पसलहरूमा मानिसहरूको भिडभाड बढी देखिएको भन्दै स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई न्यूनीकरण गर्न गत भदौ ३ गतेको निर्णय अनुसार कार्यान्वयन भयो कि भएन भनी समीक्षा गर्दा धरान उपमहानगरपालिका, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी, प्रहरी तथा इलाका प्रशासन कार्यालयको संयुक्त रूपमा अनुगमन गर्न निस्किएको र केही हदसम्म यसको कार्यान्वयन भएको पाइएको बताइएको छ ।

बैठकमा मेयर राईले धरानमा कोरोना संक्रमणदर घटेको अवस्था नरहेको बताए । धरानको १३ वटा स्वास्थ्य केन्द्रबाट निरन्तर रूपमा एन्टिजेन परीक्षण भइरहेको, धरान ८ स्थित सभागृहमा पिसिआर परीक्षण पनि भइरहेको मेयर राईले बताए ।

दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या थपि रहेको छ । नगरबासीहरुलाई सङ्क्रमणबाट जोगाउन आधिकारिक रूपमा लकडाउन गर्नुपर्छ भन्ने सुझाव आएको थियो । लकडाउनको वैकल्पिक व्यवस्था र कार्यान्वयनको लागि यसभन्दा अघि बसेको बन्दको छलफलले सबैलाई जबाफदेहिता बनाएको मेयर राईको भनाई छ ।

साथै, मेयर राईले यो सात दिनको अवधिमा उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी, प्रहरी तथा प्रशासन लगायतले अत्यन्तै राम्रो भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।

अनुगमनको क्रममा केही स्थान र व्यवसायमा समस्या देखिएको, तरकारी व्यवसायमा भिडभाड बढी देखिएकोले समय बढाउनुपर्ने देखिएको भनी सर्वव्यापी रूपमा समीक्षा भएको छ ।

आजको सर्वपक्षीय बैठकले स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने निर्णय गरेको छ ।