धरान : राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबन्दी खोल्नुपर्ने बताएको छ । प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले लगाएको ताला खोलेर काम गर्ने वातावरण मिलाउनुपर्ने बताएको हो ।

नगर समिति अध्यक्ष नवीन पराजुलीद्वारा बिहीबार जारी विज्ञप्तिमा धरानलाई मृत शहरको रूपमा परिणत गर्ने गरी तालाबन्दी गरिएको प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । यस्ता खालका तालाबन्दी राप्रपाले स्वीकार गर्न नसक्ने राप्रपाको भनाई छ ।

आन्दोलनमा उठेका विषय प्रक्रियागत रूपमा समाधान हुनुपर्ने राप्रपाको ठहर छ । “प्रतिष्ठान स्वच्छ, सफा र पारदर्शी हुनुपर्छ । स्वास्थ्य सेवा छिटोछरितो र प्रभावकारी हुनुपर्छ । शैक्षिक गुणस्तर उच्चस्तरको हुने गरी शैक्षिक कार्यक्रम सञ्चालन हुनुपर्छ ।, विज्ञप्तिमा भनिएको छ, “यी सबै हुनका लागि हाल देखिए फोहोर मैला फालेर, शुद्धीकरण गरिनुपर्छ ।”

पदाधिकारीको बचाउ गर्दै राप्रपाले प्रतिष्ठानका प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी लगाएर काम गर्नबाट वञ्चित गराएको आरोप लगाएको छ । यस्ता खालका आन्दोलनले प्रतिष्ठानको मूल जगलाई कमजोर बनाउने र धरानलाई पुनः मृत सरहमा परिणत गर्ने राप्रपाको बुझाई छ।

rpp-1

rpp2