झापा : झापामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व पश्चिम लोक मार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा भएको सवारी दुर्घटनामा परि मोरङको उर्लाबारी नगरपालिका ३ का ५० वर्षीय हेमशागर थापाको घटनास्थलमै मृत्यु भएको हो।

पश्चिमबाट पूर्व जाँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६७६२ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिकले जानकारी दिएको छ।

ठक्कर दिने बसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।