धरान : कोरोना विरुद्धको भारतीय कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूलाई धरानमा यही भदौ १३ र १४ गते कोभिसिल्डको दोस्रो मात्रा एक्स्ट्राजेनेका खोप लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरानमा कोभिसिल्डको साटो एक्स्ट्राजेनेका खोप ७ हजार ७ सय ४१ जनालाई लगाइनेछ ।

गएको फागुन २३ देखि चैत ४ गते सम्म भारतीय खोप कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रामा यो खोप लगाउन लागिएको हो ।

पहिलो दिन भदौ १३ गते धरानको १ नम्बर वडा देखि १० नम्बर वडा सम्म १० वटा खोप केन्द्रबाट र १४ गते ११ नम्बर वडा देखि २० नम्बर वडा सम्म थप १० वटा खोप केन्द्रबाट कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा एक्स्ट्राजेनेका खोप लगाइने बताइएको छ ।

यसै गरी यस भन्दा अघि भेरोसेल खोप लगाएकाहरूलाई भदौ १५ र १६ गते दुई दिन दोस्रो मात्राको खोप लगाइने बताइएको छ।

भेरोसेल खोपको दोस्रो मात्रा पनि दुई चरणमा २० वटा वडामा वडावाईज खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए।

खोप लगाउन पहिले खोप लगाउँदा बनेको खोप कार्ड लिएर आफ्नो वडाको खोप केन्द्रमा गएर लगाउन स्वास्थ्य महाशाखाले आग्रह गरेको छ।

Khop-1 8 Khop-13 Khop-14 Khop-15 Khop-16