धरान : धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण हुने भएको छ ।

शुक्रवार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठ सहितको त्रिपक्षीय छलफलले छोटो दुरीको हरियाली मार्ग सडक निर्माण गर्ने समझदारी भएको हो ।

उक्त सडकको लागि सङ्घीय सांसद जयकुमार राईले केही बजेट समेत छुटाएका थिए । ७ किलो मिटर बढी रहेको उक्त सडकको १५ फिट चौडाइ रहनेछ । धरान-रामधुनी जोड्ने हरियाली मार्ग र मदन भण्डारी सहायक राजमार्ग जोड्ने छोटो दुरीको सडक हुनेछ भने तल्लो क्षेत्रमा उत्पादन भएका कृषि उपजहरू बजारसम्म ल्याउन धेरै छिटो र सहज हुनेछ।

रामधुनी नगरपालिका लगायत तल्लो भेगका मानिसहरू र बिरामी बोक्ने एम्बुलेन्सलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म छिटो आइपुग्न सहज हुनेछ। 

हाल उक्त सडक सिङ्गल लेन ग्राभेल रहेको हुँदा त्यसको स्तर उन्नति गर्ने सम्बन्धमा शुक्रवार बसेको त्रिपक्षीय बैठकमा बृहत् छलफल भएको थियो। धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाले समन्वय गरेर सडक निर्माण गर्ने भएको छ ।

उक्त सडक सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तरउन्नति गर्न दुवै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गर्ने जनाइएको छ।

दुवै नगरपालिकाका प्राविधिक समेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वनहरू, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरूसँग समेत समन्वय गरी अघि बढाउने निर्णय भएको छ। साथै, वन क्षेत्र भएकाले नगरपालिकाबाट आईई समेत गराउने निर्णय भएको छ ।