धरान : धरान उपमहानगरपालिका वडा नम्बर १ को आफ्नै वडा कार्यालय भवन बन्ने भएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच मेयर तिलक राईको अध्यक्षतामा नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले नगरपालिकाको विकासमा नागरिकको ठुलो भूमिका रहेको बताइन् ।

उपमहानगरपालिकाले जनतालाई सुविधा दिनका लागि चेक हस्तान्तरण, राजस्व लगायत कार्य वडाबाटै सुरु गरेको उपमेयर भण्डारीले बताइन् ।

मेयर राईले वडा कार्यालयको भवन निर्माण पछि जनतालाई सेवा दिन थप सहज हुने बताए। भवन निर्माणका लागि सहज बनाइदिएको भन्दै मेयर राईले धन्यवाद प्रकट गरे । क्षयरोग कार्यालय भवनलाई समेत व्यवस्था गर्ने गरी वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर राईले बताए ।

जिल्ला समन्वय समितिबाट अगाडी नै बजेट आएको भए समयमै वडा कार्यालय भवन निर्माण हुने बताउँदै मेयर राईले समयमै भवन निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । वडा नं. ११ मा पनि चाडै वडा कार्यालय भवन निर्माण हुनेछ । पहल कदमी गर्‍यो भने विकास निर्माणको काम हुने मेयर राईको भनाई थियो ।

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले धरानको २० वटा वडामध्ये ६ वटा वडाको भवन बन्न बाँकी रहेको जानकारी दिए । वडा नं. १, २, ३, ४, ११ र १२ को भवन बन्न बाँकी रहेको उनले बताए । उनका अनुसार उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी दिपादिल कन्स्ट्रक्सनसँग १ करोड २३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा सम्झौता भएको छ ।

उक्त वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ५० लाख रुपैयाँ र नगरपालिकाको ७३ लाख ५९ हजार १ सय ७६ रुपैयाँ ९७ पैसामा साढे दुई तलाको भवन बन्नेछ। उक्त भवन पाँच तलासम्म जान सक्ने गरी निर्माण गर्न लागिएको उनले बताए। इन्जिनियर श्रेष्ठका अनुसार ठेकेदार कम्पनी दिपादिल कन्स्ट्रक्सनसँग २०७९ वैशाख १ गतेसम्म भवन सम्पन्न गर्ने सम्झौता भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता कोइरालाले यथाशीघ्र सबै वडामा भवन निर्माण चाडै सम्पन्न गर्न सुझाव दिए । सांस्कृतिक, धार्मिक र बौद्धिकताको हिसाबले धरान धेरै अगाडी रहेको उनले बताए । उनले भने, ‘पूर्वाधारको हिसाबले प्रदेशको राजधानी धरान बनाउन उत्कृष्ट थियो, तर त्यो भएन ।’

सङ्घीयतालाई मजबुत बनाउनका लागि तिन तहको समन्वय नभई विकास निर्माणको काम सम्भव नहुने कोइरालाको भनाई थियो ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ, १३ नं. वडाका अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङ, नेपाल क्षयरोग संस्थाका केन्द्रीय सदस्य केशव श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति उमेश थापा लगायतले सम्बोधन गरेका थिए ।