झापा : निरन्तरको वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण जिल्लास्थित साना तथा ठुला नदिहरुमा पानीको बहाव बढेको छ भने केही स्थान डुबानमा समेत परेका छन्। यस्तै जिल्लाको दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू कटानका कारण उच्च जोखिममा परेका छन् ।

पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाले झापा गाउँपालिका-५ स्थित पन्थपाडाका १२ घर डुबानमा परेको छ । घर-आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। डुबानमा परेका परिवारलाई नजिकै रहेको महेन्द्र माविमा राखिएको छ।

घर आँगनमा जमेको पानी निकासका लागि प्रहरी चौकी शरणामतीको टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए । त्यस्तै माई खोलामा आएको बाढीले गौरीगंज गाउँपालिका-१ स्थित रंगेथानमा तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको छ।‘खोलाले तटीय क्षेत्रको ३५-४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको डिएसपी थापाले जानकारी दिए ।

निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै माहाभारा तथा कुन्जीवारि क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अहिलेसम्म बाढीका कारण जिल्लामा कुनै मानवीय क्षति नभएको झापा प्रहरीको भनाइ छ।

घाग्रा खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका-५ स्थित पाण्डपपुर बस्ती जोखिम रहेको छ। तटीय क्षेत्र यसरी नै कटान हुँदै गए त्यस क्षेत्रमा ठुलो क्षति हुन सक्ने स्थानीयले जानकारी दिएका छन् ।

त्यसैगरी कचनकवल-५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ। अविरल वर्षाले खोला तथा नदीहरूमा पानी बढिरहेकोले जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३१ वटा वडाको अवस्था बुझ्न स्वयंसेवक परिचालन गरिसकेको विपत् व्यवस्थापन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए। जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनिया, हडिया, अदुवालगायतको खोलामा पानी बहाव बढेको जनाइएको छ।