झापा : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजन गर्ने अध्यादेश स्थिर सरकारको लागी ल्याउनु परेको बताएका छन् ।

नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा शनिवार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले अघिल्लो केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा आकाश जमिनको फरक रहेको बताए ।

अघिल्लो सरकारले अस्थिरताको लागी अध्यादेश ल्याएको बताउँदै उनले अहिले देउवा नेतृत्वको सरकारले मुलुकको स्थिरताको लागी अध्यादेश ल्याउनु परेको बताए ।

काँग्रेसलाई जनताले पाँच वर्षको लागी प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको आफूले बारम्बार बताउँदै आएको भए पनि देश चलाउनु पर्नेले नचलाए पछि मुलुक सम्हाल्नको लागी काँग्रेस सरकारमा आउनु परेको उनले प्रस्ट पारे ।

एमाले अध्यक्ष केपी ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको भन्दै उनले नेपाली काँग्रेस निवेदन दिएर सरकारमा नआएको बताए ।

नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भमा कुरा गर्दै अहिलेको महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनु पर्ने बताए । केन्द्रमा रहेका युवा नेतृत्वहरू बिच जुन समूहबाट आए पनि पार्टीको सुद्धिकरण साझा सङ्कल्प राखेको बताए ।

नेपाली काँग्रेसका क्रियाशील सदस्यहरू पार्टीको जरा भएको भन्दै जरा बलियो भएमा मात्रै रुख दरो हुने भएकोले क्रियाशील सदस्यहरू पार्टी निर्माणमा जुट्नु पर्ने पनि बताए ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस वैकल्पिक केन्द्रीय सदस्य दिलीप राई लगायतले बोलेका थिए ।