इटहरी : नेकपा एमाले विभाजन पछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीको मोरङ जिल्ला कमिटी गठन भएको छ । शनिवार विराटनगरमा आयोजित भेलाले नयाँ कमिटी गठन गरेको हो ।

एमालेको समानान्तर कमिटीमा आबद्ध ३२५ जना समाजवादी पार्टीमा समावेश भएका छन् । चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटीले आफूलाई माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

नयाँ पार्टीको जिल्ला कमिटी गठन भएपछिको बैठकले जिल्ला पदाधिकारीहरूको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जसअनुसार दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभाग प्रमुख समेतको जिम्मेवारी टुङ्गो लागेको छ ।

डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यसै गरी चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुङ्गेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

बैठकले १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटीहरूलाई पूर्णता दिने निर्णय गरेको प्रचार प्रवक्ता आलमले बताए । सङ्गठन मजबुत बनाउँदै लैजाने र आगामी निर्वाचनको तयारीमा सङ्गठन परिचालन गरिने उनको भनाइ छ ।