धरान : अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’को राशि २० हजार रुपयाको रहने भएको छ । नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न काँग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपया प्रदान गरी अक्षयकोष स्थापना गरिएको छ ।

गएको माघमा उक्त पुरस्कारको घोषणा भएता पनि कोरोना महामारीका कारण संस्थागत प्रक्रिया अघि बढ्न सकेको थिएन । शनिवार भदौ १२ गते काँग्रेस र युनियनका पदाधिकारीहरूको संयुक्त भेलाले पुरस्कार कोषको कार्यविधि सर्वसम्मतिले पारित गरी अक्षयकोषको सञ्चालक समिति गठन गरेको छ । समितिमा संयोजक मातृका प्रसाद नेपाल, सदस्य मुरारी भट्टराई, पञ्चकला राई, हर्ष सुब्बा र सदस्य सचिवमा शान्ता निरौला रहेकी छन् ।

अक्षयकोष घोषणा गर्दा एक लाख ५० हजार घोषणा गरिएता पनि त्यसमा ५० हजार थप गरी २ लाख रुपया पुर्‍याइएको छ । कोषको रकम धरान-२ स्थित गोर्खा सहकारी संस्था लिमिटेडमा खाता खोली राखिने निर्णय गरिएको छ । पुरस्कार यसै वर्ष देखी प्रदान गर्न तत्काल कोषको व्याज प्राप्त नहुने भएता पनि पहिलो पुरस्कार संस्थापकबाट छुट्टै रकम प्रदान गर्ने भएको छ । पुरस्कारका लागि उपयुक्त पत्रकार चयन गर्न यसै हप्ता निर्णय गरिने बताइएको छ ।

संयोजक नेपालका अनुसार कार्यविधिमा पुरस्कारका लागि पत्रकार चयन गर्न एक पटकका लागि ५ सदस्यीय मूल्याङ्कन समिति गठन गर्नेछ । समितिले पुरस्कार प्रदान गर्न पत्रकार चयन गरी सञ्चालक समितिलाई सिफारिस गर्नेछ । कार्यविधि अनुसार पुरस्कारका लागि (क) धरान तथा सुनसरी जिल्ला लाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रहेको हुनुपर्नेछ । (ख) मूलतः विकासमुखी, लोकतन्त्रको सबलीकरण, सङ्घीयतामा स्थानीय तहको भूमिका, स्थानीय आर्थिक, सामाजिक, सांस्कृतिक तथा महिला, बालबालिका, दलित, अपाङ्गता विषयमा खोजमूलक पत्रकारिता गर्दै आएको हुनुपर्ने उल्लेख छ ।

संस्थापक तिलक राईको सभापतित्वमा सम्पन्न संयुक्त भेलामा सम्मानित अग्रज पत्रकार गिरिराज आचार्य, काँग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिवद्वारा श्याम पोखरेल, युवराज शङ्कर, उपसभापति राजेन्द्र राई, सहसचिव महिला विभाग प्रमुख पञ्चकला राई, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ लगायत प्रेस युनियनका संस्थापक केन्द्रीय सदस्य हर्ष सुब्बा सहित पदाधिकारीहरू उपस्थित थिए ।

Giriraj-Acharya-123