झुम्का : पूर्वमा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष भाद्र महिनाभरि रैब पर्व धूमधामले मनाउँछन् । भदौ महिनाको पहिलो आइतबारबाट सुरु भई महिनाभरि पर्ने आइतबारका दिन रैब पर्वका रूपमा मनाउने गरिन्छ । यो पर्वलाई गुलियो (मिठ पावैन) पनि भन्ने चलन रहेको छ । यस दिन थारु समुदायको घरघरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । अर्थात् 'गुलियो' खानेकुरा मात्रै खाने गरिन्छ, थारु भाषामा आइतबारलाई 'रैब' पनि भनिन्छ ।

थारु समुदायको नियम र संस्कार अनुसार प्रत्येक घरमा त्यो दिन नुन, तेल खाए र अन्य नुनिलो चिज खाए पर्व भङ्ग हुने र कुल देवता रिसाउने मान्यता पनि रहिआएको छ। गाउँभरीका थारु महिलाहरू जम्मा भई प्रत्येक घर-घरमा गई 'डाली' दक्षिणा सहित चामल फलफूल उठाउने काम गर्दछ ।

रैब पर्वको भोलिपल्ट नजिकको तलाउ, नदी र पोखरीमा गएर 'बिसहैर माता' र नाग नागिन देवताको पूजा गरी पर्वलाई विसर्जन गर्ने गरिन्छ। यसै गरी धार्मिक मान्यता अनुसार छोरी चेली लाई माइत बोलाएर सु:ख दु:खका कुराहरू साटासाट गर्नाले छोरी चेलीको आशिष् लाग्ने र आफूले चिताएको सबै आशा आकाङ्क्षा पुराहुनुको साथै परिवारमा शान्ति, बालबच्चाको सुस्वास्थ्यको कामना गर्नुको साथै कृषि उपजमा वृद्धिको लागि समयमा वर्षा होस्, बालीनालीमा रोग व्याधि नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रही आएको शिक्षक तथा थारु विश्लेषक छविलाल चौधरीले जानकारी दिएका छन् ।

यो पर्व अहिलेसम्म पनि थारु समुदायमा निरन्तर मनाई रहेकाले भावी सन्ततिले समेत महत्त्व र संरक्षण गर्नु पर्ने आवश्यकता रहेको विश्लेषक चौधरीले बताए । रैब पर्व पूर्वका सुनसरी, झापा, मोरङ, सप्तरी, सिराहा, उदयपुर र धनुषा लगायत थारु बसोबास रहेको जिल्लाहरूमा मनाउने गर्दछ । यस्तै पश्चिमका थारुहरूले यो पर्वलाई 'बड्का अटवारी' भनेर मनाउने गर्छन् । उनीहरू यो पर्व कृष्णा जन्माष्टमीपछि मनाउने गर्दछन् ।

raiba-dai-cahura