धरान : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २५ औ वार्षिक उत्सवको अवसरमा इक्यानको शाखा कार्यालय इक्यान पूर्वाञ्चलले विविध कार्यक्रम गरी रजत जयन्ती मनाएको छ।

२५ औ वार्षिक उत्सवको अवसरमा विराटनगर, इटहरी र धरानका केही संस्थाहरूमा अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरिएको थियो। विराटनगर-१ स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा आवश्यक बोर्ड तथा सिलिङ पङ्खाहरू, इटहरी-४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिकाहरूलाई खाद्यान्न तथा धरान-३ स्थित भानु स्मृति माविमा आवश्यक वाल पङ्खाहरू प्रदान गरी २५ औँ वार्षिक उत्सव मनाइएको इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन शर्मा निरौलाले बताए ।

अध्यक्ष निरौलाको अध्यक्षतामा भएको कार्यक्रम विराटनगरबाट सुरु भएर इटहरी हुँदै धरानमा आएर सम्पन्न भएको थियो। कार्यक्रम अझ बृहत् रूपमा मनाउने सोच हुँदाहुँदै कोरोना महामारीका कारण सामान्य सामाजिक कार्य गरेर सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको अध्यक्ष निरौलाले बताए।

इक्यान पूर्वाञ्चलका पदाधिकारीहरू मात्र उपस्थित रहेर सानो सामाजिक कार्यक्रम गरिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष प्रकाश लकान्द्रीले जानकारी दिए।

विषम परिस्थितिमा पनि आफ्नो वार्षिक उत्सवका बेला अत्यावश्यक सामग्री सहयोग गरेकोमा सहयोग पाउने संस्थाका प्रतिनिधीहरुले इक्यानका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।आगामी दिनहरूमा पनि यसरी नै सामाजिक उत्तरदायित्व पुरा गर्दै जाने कोषाध्यक्ष दीपक गौतमले बताए ।