विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रको आइतबार अनुगमन गरेका छन् ।

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आइसियु, एडियू बेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वास्थ्यकर्मी जानकारी लिएका थिए । उनले कोरोना सङ्क्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरी गर्न निर्देशन समेत दिए ।

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी दिए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उन भने,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आइसियु, एसडीयू, भेन्टिलेटर सहित गरी ९६ बेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायत अनुगमन टोलीमा सहभागी थिए ।