इटहरी : सुनसरीको इटहरीमा महिलालाई सीप मार्फत आत्मनिर्भर बनाउने उद्देश्य सहित उद्यमशीलता तथा स्वरोजगार केन्द्र स्थापना भएको छ ।

इटहरी-९ मा ग्रिन लिङ्क फाउन्डेसन प्रालीले उद्यमशीलता प्रवर्द्धन तथा महिला स्वरोजगार सृजना केन्द्रको स्थापना गरेको हो ।

आइतबार नेपाली काँग्रेस प्रदेश १, संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रको उद्घाटन गरेका हुन् । ‘सिप सिकौँ रोजगार बनौँ, समृद्धिको ढोका खोलौँ’ भन्ने मूल नाराका साथ महिलालाई आत्मनिर्भर बनाउने अभियान सुरु भएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि रहेका कोइरालाले महिलालाई उद्यमशीलता सँग जोडियो भने समाज र देशलाईनै फाइदा पुग्ने बताए । दक्ष महिला भए मात्र समाज परिवर्तनमा सहयोग पुग्ने उनको भनाई छ ।

“महिला समावेशितामा मात्र हैन दक्षतामा पनि अगाडी आउन जरुरी भइसकेको छ । क्षमतावान् महिला भए भने आत्मनिर्भर हुन सक्छन् त्यसले महिला स्वयम्को आत्मविश्वास बढाएर लैजान्छ ।,” उनले भने, “समावेशितामा दक्षता मिसाउँदा परिपक्वता हुन्छ । त्यस्तै परिपक्व महिलाको खाँचो यो देशलाई परेको छ ।”

कार्यक्रमको विशिष्ट अतिथि काँग्रेस प्रमुख सचेतक केदार कार्कीले महिलाहरू कोटामा भन्दा दक्षतामा अब्बल हुनुपर्ने धारणा राखे । जुनसुकै क्षेत्रमा पनि महिलाको भूमिका अरूमा निर्भर हैन आत्मनिर्भर हुन जरुरी रहेको उनको भनाई छ ।

प्रालीकी सञ्चालक निर्मला चौधरीले अदक्ष महिला भएकै कारण घरेलु हिंसा भएकोले अब महिला आत्मनिर्भर भए भने हिंसाका माध्यम कम हुने बताइन् । आर्थिक हिसाबमा सबल महिलाले घर परिवार देखी समाजको नेतृत्व गर्न सक्ने भएकोले आफूहरू त्यसतर्फ लागी परेको उनको भनाई छ ।

कार्यक्रममा फोहोर मैलाको व्यवस्थापनलाई आम्दानीको श्रोत बनाएको भन्दै स्थानीय धनकुमारी लुइँटेललाई सम्मान गरिएको थियो ।