इटहरी : इटहरी-८ मा रहेको सार्वजनिक पुस्तकालयको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । तदर्थ समिति रहेको व्यवस्थापन समितिले नयाँ कार्यसमिति चयन गरेको छ।

सरस्वती सतन माविको भवनमा शनिवार सम्पन्न साधारणसभाले बद्री प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको सचिवमा स्थानीय युवा विवेक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा ओम प्रकाश निरौला, सहसचिव देवराज शर्मा , कोषाध्यक्ष सरस्वती चौधरी चयन भए । सदस्यहरूमा अनिल राज भण्डारी , सन्तोष रायमाझी, ज्योति बराल र तारा पराजुली ढकाल रहेका छन् ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समाजमा विकास र परिवर्तनको लागि पुस्तकालय आवश्यक पर्ने बताउँदै उनले आफू सक्दो सहयोग गर्न तयार रहेको बताए । नयाँ कार्यसमितिलाई शुभकामना दिँदै उनले पुस्तकालयलाई वार्षिक रूपमा रु ५१,००० रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

नवनिर्वाचित अध्यक्ष पोखरेलले पुस्तकालयलाई थप परिष्कृत बनाउँदै ई लाइब्रेरीको रूपमा विकास गर्न बाचा गरे । पुस्तकालयले विद्यार्थी देखि अभिभावकलाई समेत ज्ञान दिने भएकाले यो एक आवश्यक पहल भएको उनको भनाइ छ।