चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसले सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेर नगर, क्षेत्र, जिल्ला तथा केन्द्रलाई एकताको सन्देश दिएको छ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १८ गतेबाट सुरु हुने वडा अधिवेशनबाट चयन हुने वडा समिति, वडाबाट नगरमा प्रतिनिधित्व गर्ने नगर सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन गर्ने निर्णय गरेर देशभरका वडालाई एकताको सन्देश दिएको हो।

जननिर्वाचित वडाध्यक्ष समेत रहेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठको सक्रियतामा आकाङ्क्षीहरूको सहमतिमै वडाबाट चयन हुने नेतृत्व सर्वसम्मत भएको हो । उक्त सहमति १४ औँ महाधिवेशनमा नौलो र प्रथम प्रयोग समेत भएको छ। वडा अधिवेशन गराउने निर्वाचन टोली आउनु भन्दा अगाडि नै वडामा सर्वसम्मत रूपमा नेतृत्व छनोट भएको छ।

अब निर्वाचन समिति घोषणा मात्र बाँकी छ। गएको ८ गते क्रियाशील भेला मार्फत आकाङ्क्षीहरूले आफू उठ्ने पदको घोषणा गरेका थिए। प्राय: सबै पदमा प्रतिस्पर्धा देखिए पछि महाधिवेशन प्रतिनिधि सुरेश श्रेष्ठ, क्षेत्र नं १ सदस्य लक्ष्मी मालाकार लगाएको निरन्तरको सक्रियतामा सबै पदमा सर्वसम्मत चयन भएको हो।

अब केन्द्रीय समितिले निर्धारण गरेको १८ गते हुने वडा अधिवेशनमा नाम घोषणा मात्र गर्नेछ। सर्वसम्मत भएको नेतृत्वमा वडा सभापतिमा ईशवर थापा, उपसभापति, सचिव, सहसचिव तथा कार्य समितिका सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको छ भने वडाबाट प्रतिनिधित्व हुने नगर सदस्यमा भविन राउत, दिनेश घिमिरे र सुशीला परियार रहेका छन्।

त्यस्तै क्षेत्रीय प्रतिनिधिहरूमा आदिवासी जनजातिबाट सुरेश श्रेष्ठ, दलितबाट उदय ठटाल, मधेसीबाट सन्तोष साह, खस र आर्यबाट लोकबहादुर दाहाल, महिलाबाट सुशीला शेर्पा, पवित्रा राई, लीला साह, श्यामकुमारी राई, सुकमाया तामाङ त्यस्तै खुल्लाबाट सन्तोष श्रेष्ठ, मनोज तामाङ, साजन राई, सुरेन राई, युवराज श्रेष्ठ, अजित राईको नाममा सहमति जुटेको छ।