धरान : सुनसरीको महेन्द्रनगरमा रहेको सुनसरी आधारभूत विद्यालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पहिलो पटक पुगेका छन् ।

वि.सं.२०३८ सालमा स्थापना भएको विद्यालयबाट हजारौँले बिद्यार्थीहरुले आधारभूत तहको शिक्षा हासिल गरिसकेका छन् । साबिक महेन्द्रनगर गाविस वडा नं ७ मा रहेको उक्त सुनसरी आधारभूत विद्यालय हाल वराहक्षेत्र नगरपालिका वडा नं ८ गल्फडिया भन्ने ठाउँमा छ ।

बस्तीको बिचमा रहेको विद्यालयमा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पहिलो पटक सो विद्यालयमा पुग्ने मन्त्री हुन् । विद्यालयका प्रधानाध्यापक रामबहादुर निरौला भने "हाम्रो विद्यालयमा पहिलो पटक मन्त्री ज्युको आगमन भयो । मन्त्री ज्युलाई स्वागत गर्न पाइयो । हामी खुसी छौ, यो हाम्रो अवसर हो ।"

यस अगाडि विद्यालय रहेको उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भिमप्रसाद आचार्य २०७० सालमा मन्त्री भएका थिए । प्रदेश नं १ मा उक्त सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर करिब ४ वर्ष जगदीशप्रसाद कुसियत मन्त्री भए । तर एक पटक पनि विद्यालयको प्राङ्गणमा पाइला हालेनन् । गएको सङ्घीय निर्वाचनबाट सांसद बनेका कार्की मन्त्री भएको १ महिनामै विद्यालयमा पुगे ।

कार्की विद्यालयमा रित्तो हात लिएर मात्र पुगेनन् । ४ करोडको भवनको योजना लिएर पुगे र भवनको शिलान्यास समेत गरे । मन्त्री कार्कीको विशेष पहलमा उक्त विद्यालयमा पनि भारतीय दूतावास मार्फत भवनको योजना परेको छ । उक्त भवनको शिलान्यास मन्त्री कार्कीले गरेका हुन् ।