धरान : वैदेशिक रोजगारमा जानेहरूको लागि दिइने पूर्व प्रस्थान अभिमुखीकरण प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मोरङको बलियामा तालिम सुरु भएको हो ।

कार्यक्रम प्रमुख अतिथि प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनको विषयमा राज्यले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालिन रणनीति बनाउने गरेको बताए ।

घिमिरेले प्रशिक्षकले वैदेशिक रोजगारीमा जाने कामदारलाई त्यस देशको श्रम कानुन, धर्म, संस्कृति, ट्राफिक नियम लगायतको विषयमा स्पष्ट जानकारी दिन सकेमा श्रमिकले विभिन्न दुर्घटनामा पर्न, कानुनी झमेला भोग्नबाट टाढा रहने बताए ।

दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ ले जानकारी दिए । वैदेशिक रोजगार बोर्डको सचिवालयकी उप सचिव मैयाँ कँडेलले बोर्डले गर्ने गतिविधिको बारेमा प्रस्ट्याएकी थिइन ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले प्रशिक्षकहरूको भूमिका महत्त्वपूर्ण भूमिका हुने भएकाले कार्यक्रममा सक्रिय सहभागी हुन सुझाए ।

भदौ १४ गतेदेखि १८ गते सम्म आयोजना गरिएको कार्यक्रममा १ नम्बर प्रदेशका २५ जना सहभागी रहेको सहभागी विशाल खरेलले बताए ।