धरान : कोरोना महामारीका कारण अहिले पनि विद्यालयहरू लकडाउन मुक्त भएका छैनन् ।

संस्थागत बोर्डिङ स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएको दाबी गरिरहेका छन् । सामुदायिक विद्यालयहरू प्रविधिमा धेरै पछि छन् । सहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरूले भने बोर्डिङ स्कुलहरू प्रतिस्पर्धा गर्दैछन् ।

स्कुल लकडाउनमा पनि पठन पाठन जारी राख्न त्यसलाई प्रविधि प्रयोगको अवसर बनाउँदै बोर्डिङसँग प्रतिस्पर्धा गर्ने सामुदायिक स्कुल मध्ये धरान–१९ स्थित किरातेश्वर मावि निकै अघि बढेको छ ।

पछिल्लो समय विद्यालयलाई प्राप्त सरकारी, गैरसरकारी र समुदायको सहयोगहरू सबै प्रविधिमा लगानी गर्दै किरातेश्वर माविले विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई प्रविधिमुखी बनाउने अभियानमा लागेको छ ।

आज सोमवार माविमा दाताहरूबाट निर्मित दुई तलाको चार कोठे नयाँ भवनको उद्घाटनको अवसरमा प्रधानाध्यापक डा.योगेन्द्र पालुङवाले भने ‘स्कुलमा भौतिक कक्षा नचले पनि प्रविधिको प्रयोग गरेर हामीले पठन पाठन जारी राखेका छौँ, सबै विद्यार्थी प्रविधिको पहुँचमा छैनन् उनीहरू लाई वैकल्पिक माध्यम बाट विद्यालय र शिक्षक सँग सम्पर्कमा राखेका छौँ ।’ उनका अनुसार प्रविधि मार्फतको कक्षामा ५० प्रतिशत विद्यार्थी जोडिएका छन् ।

पछिल्लो समय विद्यालयले जुम प्रविधि मार्फत ४ देखी १० कक्षा सम्मको पठन पाठन सञ्चालन गर्दै आएको छ । गएको वर्ष प्रविधिमा पहुँच बढाउन विद्यालयलाई प्राप्त सहयोगबाट विद्यार्थीहरू लाई मोबाइल समेत वितरण गरेको छ ।

पहुँच नभएका घरैमा पठन गर्दै आएकाहरू लाई विद्यालय तथा सम्बन्धित शिक्षकहरू सँग पठन पाठन सम्बन्धी आवश्यक सम्पर्क गर्न शुल्क नलाग्ने साझा मोबाइल सिम कार्ड वितरण गरिएको उनले बताए । प्रधानाध्यापक डा.पालुङवाले भने ‘यसबाट विद्यार्थीहरू लाई पाठ्यांशका बारेमा शिक्षक सँग सम्पर्क गर्न सहज भएको छ ।’

यसअघि भौतिक कक्षामा समेत डिजिटल प्रविधिबाट पठन पाठन सञ्चालन गर्न थालिएको थियो । विद्यालयको गतिविधि र सुरक्षाको निगरानीका लागि सि सी क्यामेरा चालु अवस्थामा छन् ।

उनका अनुसार पठन पाठनलाई पूर्ण प्रविधि आधारित बनाउन विद्यालयलाई प्राप्त सबै क्षेत्रको सहयोग प्रविधिमा केन्द्रित गर्न थालिएको छ । धरान स्थित बेलायती एरिया वेल्फेयर सेन्टरको सहयोगमा निर्मित आधुनिक भवनलाई अत्याधुनिक प्रविधियुक्त बनाउन विद्यालय केन्द्रित भएको हो ।

उद्घाटन समारोहमा विद्यालय परिसरमा रहको पुरानो भवनको ठाउँमा दाताहरू बाट कुल १५ लाख ८ हजारको लागतमा निर्मित दुई तले ४ कोठे भवनको ब्रिटिस एरिया वेलफेयर सेन्टरका सिनियर वेलफेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बुले रिबन काटेर उद्घाटन गरेका थिए ।

उक्त भवन मध्ये माथिले तलाको दुई कोठा स्वर्गीय पति मानवीर लङवाको स्मृतिमा धरान–१९ की श्रीमती मयन्द्री फेन्दुवा मादेन लङवा लिम्बु तथा परिवारले कुल ७ लाख १८ हजारको लागतमा निर्माण गरिदिएकी हुन् ।

भवनको तल्लो तलाको दुई कोठा धरान–१९ की कालु सिंह एभेङ लिम्बु र देशमायाकी छोरी तथा रामकुमार हुक्पाचोङबाङकी श्रीमती इसा एभेङको स्मृतिमा उनका श्रीमान् रामकुमार र माइती तर्फका मातापिता सहित परिवारले कुल ७ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण गरिदिएका हुन् ।

व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनका अनुसार नव निर्मित भवनमा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यालय सञ्चालन गरिने छ । हाल कार्यालय रहेको कक्षलाई विद्यालयमा सञ्चालन गर्न लागिएको कक्षा ११ तथा १२ को कक्षा सञ्चालन गर्ने योजना छ ।

अध्यक्ष ताप्मादेनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा खेलकुद वरिष्ठ अधिकृत रत्नबहादुर कटुवाल, निर्माण समिति संयोजक लोकबहादुर राई, दाताकी तर्फबाट महिला नेतृ सरस्वती सुब्बा, वडा अध्यक्ष पूर्ण लिम्बु लगायतले विद्यालयको प्रविधिमुखी कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए । समारोहमा विद्यालयमा यसअघि भएका भौतिक निर्माणका दाताहरूको उपस्थिति थियो ।