झापा : विगतमा प्रदेश १ मा शेरधन राईसँग जम्मा २ भोटले नेकपा एमाले संसदीय दलको नेतामा पराजित भएका भीम आचार्य अन्ततः शक्ति सन्तुलनका लागि मुख्यमन्त्री बन्न सफल भए ।

यो बिचमा पार्टीको आन्तरिक किचलोमा व्यस्त भएका नेताहरू अन्ततः एमालेबाट एउटा समूह अलग भएर नयाँ दल दर्ता गराएसँगै आफ्नो कित्ता क्लियर गरिरहेका छन् । चाहे जे भए पनि प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार अहिले पनि छ । तर, यो सरकारले विश्वासको मत पाउँला कि नपाउँला भन्ने चर्चा अहिले व्यापक रूपमा चलिरहेको छ ।

यो बिचमा प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आचार्यलाई आफ्नो सरकार टिकाउनु फलामको चिउरा चपाउनु सरह हुने विश्लेषण समेत भइरहेको छ । एमाले छाड्ने भनी प्रदेश १ का १० जना सांसद अहिले आन्तरिक तयारीमा लागिरहेका बेला प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने आधार कमजोर भएको देखिन्छ ।

यद्यपि राजनीतिमा यसै हुन्छ भन्न सक्ने अवस्था भने नरहने राजनीतिक विश्लेषकहरू बताउँछन् । विश्वासको मत लिने बेलामा मात्रै के हुन्छ भनेर भन्न सकिने अवस्था अहिले पनि विद्यमान छ । भलै, आचार्यले विश्वासको मत पाइहाले भने उनका सामु आफ्नो कार्यकाल भरिनै चुनौतीका चाङ छन् ।

मुख्यमन्त्री आचार्य सामु देखा परेका चुनौती
विशुद्ध एमालेका प्रदेश सांसदको सङ्ख्या अल्पमतमा परेता पनि सान्त्वना स्वरूप समर्थन पाई शेरधन राईको राजीनामा पछि मुख्यमन्त्री बन्नु नाटकीय प्रवेश जस्तो त देखिन्छ नै तथापि अहिलेको ५ दलीय गठबन्धन नै उनलाई अविश्वासको मतको कारण बन्नेछ ।

गठबन्धनको योजना र सहमति अनुसार प्रदेश नं १ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) लाई भाग परेको माधव नेपालको पार्टीमा प्रस्ट तः खुलेर लागेको भोजपुरका नेता राजेन्द्र राईलाई अघि सारिएकाले भीम आचार्यका लागि यो कार्यकाल फलामको चिउरा चपाउनु सरह हुने आङ्कलन गरिएको छ ।

केपी ओलीको समर्थनमा मन्त्री बनेका कारण केपी ओली पक्षधरलाई मिलाएर लैजान तथा केन्द्रीय मूल पार्टीलाई असली तरिकाले सम्हाल्दै अघि बढ्ने माहौल बनाउने पनि चुनौती मुख्यमन्त्री आचार्य सामु रहन्छ । माधव नेपालले बनाएको नयाँ पार्टीको प्रभावका कारण उनको राजनैतिक भविस्यनै चुनौतीपूर्ण बनेका बेला आफ्नो प्रदेशमा पार्टी फुटबाट आई पर्ने थप दुर्घटना जोगाउन पनि उनी सामु चुनौतीकै रूपमा देखा परेको छ ।

प्रदेशमा सक्रिय राजनीतिक दल देखी जनताको मन जित्ने गरी प्रदेशको नामकरण गर्ने चुनौतीदेखि विकास, समृद्ध प्रदेश तथा कोभिड नियन्त्रण नै भीम आचार्यका लागि मुख्य चुनौतीका रूपमा देखा परेका छन् । अब मन्त्री बन्न आकाङ्क्षीहरूको सूचीअनुसार व्यवस्थापन गर्ने कुरादेखि लिएर कोभिडका कारण धरापमा परेका प्रदेशमा पर्यटन, शिक्षा, होटेल व्यवसाय आदिको न्यायोचित सम्बोधन पनि उनका लागि सजिलो हुने छैन ।

अझ, पहाडी क्षेत्रमा पहुँचमा नपुगेको खोप तथा राहत कार्यक्रम पनि उत्तिकै अप्ठ्यारो देखिन्छ । १ महिनाभित्र विश्वासको मत लिने क्रममा आफ्नै पार्टीका नेताले विश्वासको मत नदिई अल्पमतमा पर्ने सम्भावना अधिक देख्दादेख्दै इतिहास मात्रै राख्नका लागि मुख्यमन्त्रीको कुर्सीमा बस्न पुग्नु आरोपको चाङ बोक्न तयार भएको देखिन्छन् ।

हरेक जाति, धर्म, सम्प्रदाय तथा संस्कृतिको चाहना तथा अपेक्षा धेरै छन् । पहिले पर्यटन मन्त्री बनिसकेका आचार्यलाई संस्कृति तथा पर्यटनलाई नै व्यवस्थापन, संरक्षण, सम्र्वद्धन गर्न पनि चुनौतीका रूपमा देखिएको छ ।

चुनौतीको भारी बोकेका मुख्यमन्त्री आचार्यका लागि यो नाटकीय मोडले बनाएको माहौलले साथ देला या नदेला त्यो त आगामी दिनले बताउँला । तर, जति काम गर्न पाउँछन् त्यति दिनहरू सुनौला बनुन् प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई हाम्रो तर्फबाटपनि हार्दिक बधाई ।