विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।

‘सबल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाइएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख फणीन्द्र खत्रीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाइनुपर्ने, पुस्तकालय सम्बन्धी कानुन निर्माण, नमुना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरीय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवश्यकता, प्रदेशमा भएका पुस्तकालयहरूको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका सङ्घ प्रदेश १ का अध्यक्ष महेश बस्नेत, गाउँपालिका महासङ्घ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिका स्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

सङ्गम पुस्तकालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न पुस्तकालयका अध्यक्ष तथा प्रतिनिधिहरुसहभागि भएका थिए ।