सुनसरी : कोरोना महामारी कायमै रहेको बेलामा मङ्गलवार सुनसरी सदरमुकाम इनरुवामा ठुलो तामझाम र भिडभाडका साथ रथ यात्रा सम्पन्न भएको छ ।

इनरुवा नगरपालिकाको आर्थिक सहयोग तथा राधाकृष्ण मन्दिर सेवा समितिको व्यवस्थापन र समन्वयमा दुई वटा फाइवरको घोडा राखेर निर्माण गरेको रथमा राधा कृष्णको प्रतीक राखी नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतम समेतको अगुवाइमा नगर क्षेत्र सहित आसपासको क्षेत्रबाट ठुलो मात्रामा आएका भक्तजनहरूको उपस्थितिमा रथ यात्रा निकालिएको थियो ।

उक्त रथ यात्रा राधाकृष्ण मन्दिरबाट महेन्द्र चौक हुँदै सरकारी वकिल कार्यालय मालपोत रोड सखुवा गाछी, अदालत रोड सोमबारे हाट हुँदै कृषि विकास बैङ्क रोड शान्ति चौक हुँदै मुख्य बजार परिक्रमा गरी भगवती रोड बस चोक हुँदै पुनः मन्दिर परिसरमा आएर रथ यात्रा पुरा भएको थियो ।

रथ यात्रा व्यवस्थापनका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरीको साथ सहयोग रहेको थियो । उक्त रथ यात्रामा इनरुवा सहित भोक्राहा नरसिंह, गढी गाउँपालिका तथा रामधुनी नगरपालिका समेतबाट आएका भक्तजनहरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Rath-Yatra-1

दुई वटा फाइबरको सेतो घोडा सहित रथ निर्माण गर्नका लागि इनरुवा नगरपालिकाको तर्फबाट १६ लाख रुपैयाँ लागत सहयोगमा २० प्रतिसत लागत मन्दिर सेवा समितिको लगानीमा निर्माण गरिएको मन्दिर सेवा समितिका अध्यक्ष केसरी प्रसाद अधिकारीले जानकारी दिए ।

रथ यात्रा आयोजक समितिले भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर रथ यात्रा सफल बनाई दिन हुन नगरवासीहरूमा अनुरोध गरेता पनि उल्लेख्य भक्तजनहरूको उपस्थिति रहेको हुँदा स्वास्थ्यको मापदण्डको पालना भएको पटक्कै देखिएन ।

रथ यात्रा निकाल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २५ जनाको सहभागितामा रथ तान्न अनुमति दिए पनि उल्लेख्य सहभागिताको कारण स्वास्थ्य मापदण्ड पालना नभएको पाइएको थियो ।

Rath-Yatra-2