वराहक्षेत्र : केही दिनदेखिको निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा चतरा– वराहक्षेत्र सडक खण्ड अवरोध भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कोसी पुलबाट वराहक्षेत्र धाम जोड्ने चतरा–वराहक्षेत्र सडक अन्तर्गत फेरी सञ्चालन भएको धनसार खोलादेखि मास्तिरको पहाड खस्दा सडक पूर्ण रूपमा अवरोध हुन पुगेको हो ।

वराहक्षेत्र मन्दिरका स्थानीय राजु घिमिरेका अनुसार केही दिनदेखिको निरन्तर परेको पानीले सोमवारदेखि पहिरो जान थालेको थियो । सोमवार सडक विभागका कर्मचारी सहित स्थानीयवासी र टेम्पु व्यवसायीहरूले पहिरो खोलेर सामान्य रूपमा यात्रा गर्न सक्ने बनाए पनि मङ्गलवार दिउसो परेको पानीले धनसार खोला मास्तिरको करिब ५० मिटर क्षेत्रफलको पहाड खस्दा पुर्णः रूपमा सडक अवरोध भएको छ ।

पहिरोका कारण मंगलबार बेलुका ६ बजेबाट सडक वराहक्षेत्र मन्दिर जाने बाटो अवरुद्ध भएको र मौसम सफा हुने साथ अवरोध हटाउन थाल्ने वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले बताए ।

हिजो खसेको पहिरोले गर्दा चतरा वराहक्षेत्र सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको वराहक्षेत्रका योगेश भण्डारीले जानकारी दिएका छन् ।