झापा  : नेकपा एमाले प्रदेश १ का १० जना सांसदले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले आज एमाले औपचारिक रूपमै छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्री रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, सङ्खुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।

१० जना सांसदले एमाले छाडेपछि नवनियुक्त मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् भने उनको नेतृत्वको सरकार सङ्कटमा परेको छ। यसबिचमा, प्रदेश १ का १४ जिल्लाका पार्टी अध्यक्षहरू मध्ये सङ्खुवासभा बाहेक बाकी १३ जिल्लाका अध्यक्षहरू भने नेकपा एमालेमै रहेका छन् । नेकपा (एकीकृत समाजवादीमा) सङ्खुवासभाका एमाले अध्यक्ष हेमराज घिमिरे मात्रै खुलेका छन् भने, बाँकी १३ जिल्लाका पार्टी अध्यक्षहरू नेकपा एमालेमै रहेका छन् ।

ताप्लेजुङका बलबहादुर साम्सोहाङ, पाँचथरका राजकुमार भण्डारी, इलामका राम राना, झापाका चिन्तन पाठक, मोरङका विनोद ढकाल, सुनसरीका रमेश बस्नेत, धनकुटाका राजेन्द्र राई, तेह्रथुमका लक्ष्मण तिवारी, भोजपुरका प्रेमकुमार राई, ओखलढुङ्गाका मोहन कुमार श्रेष्ठ, उदयपुरका ईश्वर राउत, खोटाङका बबि चाम्लिङ र सोलुखुम्बुका मानवीर राई नेकपा एमालेमै रहेका छन् ।

प्रदेश १ मा पार्टी विभाजनको असर देखिए पनि खासै ठुलो क्षति भने नहुने र नदेखिने एमाले नेताहरूको दाबी छ । यद्यपि जिल्ला अध्यक्षहरूमा १ जना बाहेक सबै एमालेमै रहेता पनि १० जना सांसदले एमाले छाडेपछि प्रदेश १ मा अब एमालेकै नेतृत्वमा सरकार नरहने प्रस्टै देखिएको छ ।