इटहरी : मुख्यमन्त्री परिवर्तन भएको एक सातामै प्रदेश १ सरकार अल्पमतमा परेको छ ।

शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार अल्पमतमा परेको हो । नेकपा एमाले भित्रको समीकरण मिलाउन राईले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

तर नेकपा एमाले विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी) मा १० जना प्रदेश सांसद गएपछि आचार्यलाई बहुमत नपुग्ने प्रस्ट भएको छ । सांसद राजेन्द्र राईको नेतृत्वमा १० सांसदले माधव नेपाल नेतृत्वको समाजवादी पार्टी रोजेका हुन् । बुधवार प्रदेश निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ता गराएका हुन् ।

५१ सांसद सहित बहुमतमा रहेको एमालेमा सभामुख र फरार एक सांसद बाहेक ४९ सांसद थिए । समाजवादीमा १० सांसद गएपछि एमाले ३९ सांसदमा सीमित छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

यसअघि पनि संसद्को अङ्कगणित मिलाउन नसक्दा उनी मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए । पार्टी विभाजन पछि बल्ल पाएको पद पनि पुनः अङ्कगणितकै कारण समस्यामा परेको छ ।

उनैले टिकट दिएर सांसद भएका जीवन घिमिरेले मन्त्री हुने लोभमा आचार्यलाई संसदीय दलमा पराजित गरे । अहिले पनि उनी मध्यमार्गी भूमिकामा छन् । आचार्यका विश्वासपात्र मानिएका राजन राईले विश्वास घात गरेर मत बदर गरिदिए । आचार्य शेरधनसँग त्यही दुई मतले पराजित भए । ५२ सांसदका बिच भएको मतदानमा उनले जम्मा २४ मत पाएका थिए । अहिले तिनै २४ जनामध्ये १० जना उनी विरुद्ध लागेका छन् ।

आचार्यकै जोड बलमा सांसद भएका उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, पदमकुमारी गुरुङले समेत उनको साथ छाडेका छन् । सांसद राजेन्द्र राई आफै आचार्य निकट सांसद हुन् । बुधवार राइकै नेतृत्वमा सावित्री रेग्मी, खिनु लङ्वा (लिम्बु), गणेश गणेश काम्वाङ, सुनिता चौधरी र सरिता थापाले आचार्यलाई छाडेका हुन् । उनीहरु आचार्यकै पहलमा सांसद भएका हुन् । आफ्नै पक्षका सांसदलाई टिकाउन नसक्दा बारम्बार उनले धोका पाएका छन् ।

हाल एमालेले अन्य साना दलसँग गठबन्धन गर्दा समेत बहुमत नपुग्ने भएपछि आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।

नेपालको संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त दलको हैसियतमा आचार्य मुख्यमन्त्री भएका हुन् । सरकार नेतृत्वको दल विभाजन भएमा धारा १८८ (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बुधवार प्रदेश निर्वाचन आयोगमा दल विभाजनको जानकारी पुगे पछि आचार्यले विश्वासको मत लिनुपर्ने भएको छ । हालको अङ्कगणितमा काँग्रेस बाहेक अन्य साना दल सँगको गठबन्धनमा समेत बहुमत नपुग्ने भएपछि आचार्य अल्पमतमा पर्ने भएका हुन् ।

एमालेको सरकार अल्पमतमा परेपछि ५ दलीय गठबन्धनमा आश्चर्यजनक दरार नआए नयाँ सरकार बन्ने निश्चित छ । नयाँ सरकारको लागी गठबन्धनको निरन्तरता र समाजवादी जाने निर्णय लिएका संसद्को अडानमा भर पर्ने देखिएको छ ।

गत बिहीबार सपथ लिए लगत्तै शुक्रवार दुई जनालाई मन्त्रीमा नियुक्त गरे । माधव नेपाल समूहका अन्य सांसदलाई पनि मन्त्री बनाउने तयारीमा रहेका आचार्यलाई १० सांसदको नयाँ दल रोजाइले समस्या पारेको छ । आचार्यले यी १० जनामध्ये अधिकांशलाई मन्त्री बनाउने आश्वासन दिँदै आफूलाई सघाउन आग्रह गरेका थिए ।

आचार्यले मुख्यमन्त्रीको सपथ लिए लगत्तै नेता राईले प्रदेश सरकार दुई दिनमै अल्पमतमा पर्ने बताएका थिए । नयाँ दल दर्तापछि प्रतिक्रिया दिँदै राईले आचार्यले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताएका छन् । राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर सरकार ढाल्ने राईले चेतावनी दिएका छन् ।

Samajbadi