धरान  : अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ।

नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ बिहीबार धरान-२ स्थित पार्टी कार्यालयमा पत्रकार आङ्लालाई प्रदान गरिएको हो।

प्रदेश नं. १ संसदीय दलका नेता एवं काँग्रेस सुनसरीका सभापति राजीव कोइराला, सङ्घीय सांसद मिना सुब्बा, प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ र धरान उपमहानगरपालिकाका मेयर एवं ‘श्री गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’का संस्थापक संरक्षक तिलक राई लगायत नेताहरूले नगद २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेका थिए। 

नेपाली काँग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न काँग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट नगर प्रमुखलाई प्राप्त हुने सेवा सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी अक्षयकोष स्थापना स्थापना गरेको थिए ।

मेयर राईले अग्रज पत्रकार तथा नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको योगदानको कदर गर्दै उहाँको सम्मानमा पत्रकारिता पुरस्कार खडा गरिएको बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राईले जीवित व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नु अत्यन्तै राम्रो पक्ष रहेको बताए । अध्यक्ष राईले आदिवासी तथा जनजाति पत्रकारिता पुरस्कारका लागि पनि मेयर राईले अक्षयकोष खडा गरिदिएको भन्दै धन्यवाद समेत प्रकट गरे ।

अग्रज पत्रकार आचार्य लामो समयदेखि पूर्वी पोस्ट साप्ताहिक पत्रिका प्रकाशित गर्दै आइरहेका छन् । कार्यक्रममा काँग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, काँग्रेस धरानका सचिव श्याम पोख्रेल र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ईकबाल अहमदले सम्बोधन गरेका थिए भने कार्यक्रमका सभापतित्व समेत रहेका प्रेस युनियन धरानका संयोजक मात्रिका प्रसाद नेपालले गरेका थिए । 

Giriraj-acharya-bhairab-dai

giriraj-final-2