धरान : नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइरालाले भीम आचार्यको नेतृत्वको सरकार ढल्ने निश्चित भएकोले अव गठबन्धनको सरकार बन्ने बताएका छन् ।

नेता कोइरालाले नेपाली काँग्रेस धरान नगर समितिको भवनमा आयोजित गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले गठबन्धनको सरकार निर्माणको विषयमा छलफल अगाडि बढिसकेकोले अब चाडै गठबन्धनको सरकार बन्ने बताए । उनले नेकपाका १० जना सांसद माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीतर्फ गइसकेकोले यो सरकार धरापमा परेको बताए । अब प्रदेश सरकारलाई निरन्तरता दिन गठबन्धनको सरकार बन्ने तयारीमा रहेको बताए । उनले अहिले गठबन्धनमा पनि सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेस नै भएकोले सरकारको नेतृत्व पनि काँग्रेसले नै लिने बताए ।

प्रदेश नं. १ मा सरकार बन्न ५१ सिटको आवश्यकता पर्छ । १० जना सांसदले पार्टी परिवर्तन गरेपछि ४१ सिटमा रहेको नेकपा अल्पमतमा परेको छ । नेपालको संविधान धारा १६८ को १ अनुसार बहुमतको सरकार भएर प्रदेश प्रमुखले भीम आचार्यलाई मुख्यमन्त्रीमा सफथग्रहण गराएका थिए । तर यो सरकार अल्पमत परेसँगै प्रदेश सरकारको सचिवालयमा गठबन्धनका लागि  पार्टीबिच छलफल रहेको भइरहेको नेता कोइरालाले जानकारी दिए ।

नेपाली काँग्रेस  माओवादी केन्द्र, जसपा , राप्रपा लगायतका दलको छलफल भइरहेको कोइरालाले बताए ।