धरान : गोर्खा वेल्फेयर ट्रस्टले धरान-८ स्थित सभागृहमा रहेको नगर प्रहरी ब्यारेकलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ।

सभागृह परिसरमा बिहीबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी गोर्खा वेल्फेयर धरानले नगर प्रहरीलाई १६ किसिमका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो।

उक्त हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिकाका वरिष्ठ अधिकृत गणेश कुमार खतिवडा र धरान वडा-८ का वडा सदस्य प्रेम तामाङको उपस्थिति रहेको थियो । अधिकृत खतिवडाले गोर्खा वेल्फेयर ट्रस्टले नगर प्रहरी ब्यारेकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको बताउँदै धन्यवाद सहितको ज्ञापन पत्र हस्तान्तरण गरे।

नगर प्रहरी इन्स्पेक्टर विष्णु कोइरालाले सभागृह परिसरमा कोरोनाको पिसिआर टेस्ट र एन्टिजेन टेस्ट हुने भएकोले जोखिम रहेको बताए । कोरोनाको जोखिम भएका कारण केही दिन अघि गोर्खा वेल्फेयर ट्रस्टलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइदिन निवेदन दिएको उनले बताए । सोही निवेदन अनुसार ट्रस्टले नगर प्रहरी ब्यारेकलाई आज स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको उनले बताए ।

उनका अनुसार गोर्खा वेल्फेयर ट्रस्टले स्टेन सहितको हात धुने ट्याङ्की एक थान, प्लास्टिक बकेट ठुलो सानो गरेर ७ थान, ग्यारेज ब्याग ६० थान, सर्जिकल मास्क ४ सय थान, स्यानिटाईजर १० थान, क्लोरिन ३ ग्यालिन, सेफ्टी ग्लोबस् ४ थान, ह्याण्ड वासिङ लिक्वीड १० थान, ह्याण्ड वासिङ लिक्वीड ५ ग्यालिन, रबर गम्बुड ४ जोर, थर्मल गन १ थान, सेफ्टी गाउन ३ थान हस्तान्तरण गरेको हो ।