विराटनगर : प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्त  असंवैधानिक भएको बताएका छन् । उनीहरूले असंवैधानिक नियुक्ति बदरको समेत माग गरेका छन् । 

नेकपा एमाले विभाजन भैसकेको अवस्थामा निर्वाचन आयोगले प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिइसकेको समयमा बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो ।

विपक्षी गठबन्धनको बिहीबार प्रदेशसभा सचिवालयमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले एमाले विभाजनकै समयमा प्रदेशका सांसदहरू समाजवादी दलमा खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको बैठकले निष्कर्ष निकालेको बताए । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न भनेको छ । 

गठबन्धन दलका नेताहरूका अनुसार समाजवादी दलका सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि ज्ञापन दिने जनाएका छन् । 

एमाले नेता भीमप्रसाद आचार्य गत बिहीबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।