धरान : प्रदेश १ का विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ५ आदिवासी रङ्गशाला अगाडी पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टाँगी बस्ने लोहरा कापरीको छोरा ४ वर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३-००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो ।

पिक अप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ वर्षीय अजय पाख्रिन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका-१८ खोक्साहा का २८ वर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

आज दिउसो ११ बजे विराटनगर-१७ मा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइतेलाई कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटी थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी मोरङको धनपालथान गाउँपालिका ७ कदमाहा का ३२ वर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ। आज दिउसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।