इनरुवा : इटहरी उपमहानगरपालिका १२ खनार निवासी पत्रकार कुलदिप चौधरीले आफ्नो बुवाको स्मृतिमा थारु समुदायका युवाहरूलाई प्रोत्साहित गर्न २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको प्रदेश नं. १ को परिषद् सदस्य तथा थारु पत्रकार सङ्घको केन्द्रीय सदस्य समेत रहेका पत्रकार चौधरीको बुवा परशुराम चौधरीको १३ औँ दिनको पुण्य तिथिको अवसर पारेर बिहीबार आयोजोति श्रद्धाञ्जली कार्यक्रममा सो राशि बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

थारु समुदायको धार्मिक, सांस्कृतिक, कला क्षेत्र लगायत विभिन्न समस्यामा परेका विपन्न वर्गका व्यक्तिहरू तथा समाजका विकृति विसङ्गतिलाई अन्त्य गर्नका लागि कलम चलाउने थारु अगुवा युवाहरूलाई सृजनशील युवा सर्जकहरूलाई सो पुरस्कार प्रत्येक वर्ष वितरण गरिने जनाइएको छ ।

थारु समुदायका अगुवा सृजनशील युवाहरुहरुको प्रोत्साहनका लागि पुरस्कार कोष स्थापना गर्न बुवाको अपेक्षा रहेकोले वहाँको अपेक्षा अनुरूप परशुराम स्मृति पुरस्कार कोष स्थापना गरेको जेठो छोरा कुलदिप चौधरीले जानकारी गराएका छन् ।

स्वर्गीय परशुराम चौधरीको ३ छोराहरूमा जेठा कुलदिप चौधरी, माइलो गहेन्द्र चौधरी र कान्छो खिरेन्द्र चौधरी तथा १ छोरी कमला चौधरी रहेका छन् । स्व. परशुराम चौधरी थारु भाषाको साहित्यकार हुनु हुन्थ्यो भने श्रद्धाञ्जली सभामा स्वर्गिय चौधरी द्वारा विमोचित कविता सङ्ग्रह समेत वितरण गरिएको थियो ।