इटहरी : नेकपा एमाले सुनसरीमा पुनः किचलो सुरु भएको छ ।

एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलले गरेको निर्णय विरुद्ध काम हुन थाले पछि विवाद भएको हो ।

भदौ २७ गते बिहीबार बसेको कार्यदलको बैठकले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा रमेश बस्नेतलाई पुनर्स्थापना गर्ने निर्णय गरेपछि ओली समूहबाट अध्यक्ष भएका रेवतीरमण भण्डारीले आपत्ति जनाएका छन् ।

नेकपा एमालेका सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य सहितको कार्यदलले भण्डारी नेतृत्वको कमिटीलाई बरखास्त गर्दै २०७५ जेठ २ गतेका अध्यक्ष बस्नेतलाई पुनर्स्थापना गरेको हो । माधव नेपाल र केपी शर्मा ओलीको विवाद उत्कर्षमा भएको बखत २०७७ फागुन १ गते ओली समूहबाट भण्डारी अध्यक्ष चयन भएका थिए ।

तर १० बुँदे सहमतिले बस्नेतलाईनै अध्यक्ष बनाउने भए पछि भण्डारीले मोर्चा बन्दी सुरु गरेका छन् । शुक्रवार आफ्ना पदाधिकारीको बैठक बोलाएर उनले जेठ २ लाई फरक ढङ्गले विश्लेषण गरेका छन् ।

बस्नेत नेतृत्वको कमिटी स्पष्ट सँग पार्टीमा नखुलेको आरोप भण्डारी पक्षको छ । सुनसरी जिल्ला कमिटी विधानको व्यवस्था बमोजिम समयमा अधिवेशन सम्पन्न गर्न नसकी अवैधानिक अवस्थामा रहेको आरोप लगाइएको छ । बस्नेतले समानान्तर गतिविधि गरेको विश्लेषण गरिएको छ ।

विपक्षी गठबन्धनसँग सहकार्य गरी बिपी प्रतिष्ठान धरानका विषयमा आन्दोलन गरिरहेको लगायतका गतिविधि गरिरहेको हुँदा पार्टी पक्षधरमा नदेखिएको बताइएको छ । ज्येष्ठ २ भन्दा अगाडी कायम रहेको कमिटीबाट यस जिल्लाको सङ्गठनलाई जीवन्तता दिई क्रियाशील हुने विषयमा गम्भीर प्रश्नहरू कायम रहेको भण्डारी नेतृत्वको कमिटीको ठहर छ ।

उता बस्नेतले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागु हुने भएकोले केन्द्रीय कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताए ।

त्यसमा पनि जेठ २ गतेमा फर्काउन बनेको कार्यदलले गरेको निर्णय लागु हुने उनको भनाई छ । भण्डारी नेतृत्वको कमिटी आफैमा मान्यता प्राप्त नभएकोले यसको कुनै अर्थ नरहने उनको तर्क छ ।