विराटनगर : नेकपा एमाले मोरङ ०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।

पार्टी पुरानै अवस्थामा फर्किएपछि अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल लगायतको पुरानै जिल्ला कमिटी क्रियाशील भएको छ । यसअघि अध्यक्ष ढकाल एमाले प्रदेश १ सचिव, सचिव पोखरेलले एमाले मोरङ अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

आज विराटनगरमा बसेको सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइएको मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । सचिवालय बैठकले १० बुँदेलाई शनिवारबाटै पालिकाका वडा स्तर सम्म कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

मोर्चा विभाग प्रमुख खतिवडाले भने,‘ पार्टीलाई मूलभूत रूपमा जेठ २ मा फर्काउने र त्यही अनुसारको कमिटीहरू क्रियाशील गरिने भएको छ ।’ सचिवालय बैठकले आगामी असोज मसान्त सम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने र कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

सचिवालय बैठकका एमाले सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, पोलिटव्युरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरू जीवन घिमिरे, गुरु बराल, डा.शिवमाया तुम्बाहाम्फे लगायतको सहभागिता रहेको थियो । मोरङबाट १० बुँदे कार्यान्वयनको सुरुवात भएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए । अन्य जिल्लामा पनि पार्टी पुरानै अवस्थामा फर्किएर क्रियाशील बन्ने उनले बताए ।