धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु आफन्तले आरोप लगाएका छन् ।

शनिवार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान-२० विष्णुपादुकाकी ४१ वर्षीय फुल माया राईको मृत्यु भएको हो । उपचारमा लापारबाही गर्ने चिकित्सकहरू र कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

भदौ १७ गते बिहीबार बिहान देखि नै पेट दुख्ने र बान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बिरामीको दुई वटै मिर्गौलामा भिडियो एक्सरेबाट १५.३ एम.एम. को र पित्तथैलीमा ७ एम.एम.को पत्थरी देखिएको थियो ।

उपचार गराउँदा सम्बन्धित चिकित्सकको उपस्थित नभएको, राम्रोसँग बिरामीको उपचार नगरी शुक्रवार डिस्चार्ज पुर्जी दिएको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई घरमा लगी प्रेप्शक्रिप्सन गरिएको औषधीहरू सेवन गराउँदा बिरामीको अवस्था खराब हुँदै गएका कारण पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

शनिवार बिहान ३ बजे आकस्मिक कक्षमा भर्ना गरिने बित्तिकै महिलाको मृत्यु भएको हो । सम्बन्धित चिकित्सकले नहेरेको कारण बिरामीको मृत्यु भएको आफन्तको भनाई छ । मृतक महिलाकी नन्द दुर्गा राईले लापरबाही गर्ने चिकित्सक माथि कडा कारबाही तथा छानबिन गर्नुपर्ने माग राख्दै इमरजेन्सी अस्पतालका डेपुटी डाइरेक्टर दिव्यराज मिश्रलाई दरखास्त पत्र बुझाएको छ ।

उनले स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौँ, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन धरान शाखालाई बोधार्थ पत्र बुझाएको छ ।

प्रतिष्ठानमा चिकित्सकको लापरबाहीको कारण महिलाको मृत्यु भएको खबर पुगेपछि मेयर तिलक राई पनि प्रतिष्ठान पुगेका थिए । मेयर राईले तुरुन्तै छानबिन गर्नुपर्ने बताउँदै छानबिन समितिले पीडित पक्षलाई वार्तामा बोलाएर मनाएर पठाउन आग्रह गरे ।

पीडित पक्षले छानबिन समितिले वार्तामा नबोलाए सम्म मृतक महिलाको शव नलाने अडान लिएका छन् । शव मर्चरीमा लगेर राखिएको छ । प्रतिष्ठानको छानबिन समितिले पीडित पक्षसँग आइतबार वार्तामा बस्ने आश्वासन दिएको छ ।

Nibedan-1 Nibedan-2